नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन? ज्ञानेन्द्र शाहीको प्रश्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेपाली मौलिक धर्म, संस्कार र संस्कृतिमाथि सुधारका नाममा प्रश्न उठाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। दसैँ–तिहार, तीज र महाशिवरात्रिजस्ता पर्व तथा परम्परामाथि आलोचना गर्नेहरूले अन्य धर्मका पर्व र संस्कृतिका सन्दर्भमा पनि समान दृष्टिकोण अपनाउनुपर्ने उनको तर्क छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले आफूले कसैको विरोध नगरेको स्पष्ट पारेका छन्। तर, नेपाली समाजका परम्परागत चाडपर्व र धार्मिक अभ्यासमाथि मात्रै प्रश्न उठाउने प्रवृत्तिबारे उनले प्रश्न गरेका छन्।
उनले दसैँ–तिहारका बेला चामल सकिएको भन्दै टीका लगाउने परम्परामाथि प्रश्न उठाइने, खसीबोका काट्ने तथा बलि दिने प्रथाको विरोध गरिने र तीजमा हरियो साडी तथा चुरा लगाउने चलनमाथिसमेत आलोचना हुने गरेको उल्लेख गरेका छन्। महाशिवरात्रिमा भगवान् शिवको आराधना गर्दा पनि आलोचनाका स्वर सुनिने गरेको उनको भनाइ छ।
शाहीले पशु बलिका नाममा जनावरलाई बजारमा खेदाउने, तड्पाउने र निर्दयी तरिकाले वध गर्ने कार्यको भने आफूले पनि विरोध गर्ने बताएका छन्। पशुप्रति क्रूर व्यवहार हुन नहुने उल्लेख गर्दै सुधार गर्नुपर्ने पक्ष छन् भने तिनलाई सुधार गर्नुपर्ने उनको धारणा छ।
‘दसैँमा विरोध गर्नेहरू अन्य पर्वमा किन मौन?’
शाहीले दसैँमा पशु बलि दिने परम्पराको विरोध गर्नेहरूले बकरा ईदका बेला हुने पशु वध र क्रिसमसका समयमा हुने मासु उपभोगबारे पनि समान दृष्टिकोण राख्छन् कि राख्दैनन् भन्ने प्रश्न उठाएका छन्।
यद्यपि, उनले क्रिसमस वा ईदको विरोध नगरेको स्पष्ट पार्दै सबै धर्म र संस्कृतिको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। उनको भनाइमा, कुनै पनि धार्मिक परम्परामा सुधारको आवश्यकता भए त्यसलाई मानवीयता र विवेकका आधारमा सम्बोधन गर्नुपर्छ। तर, सुधारको नाममा नेपाली समाजको मौलिक धर्म, संस्कार र संस्कृतिलाई मात्रै निशाना बनाउनु उचित हुँदैन।
उनको अभिव्यक्तिले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, पशु कल्याण र सबै धर्मप्रति समान व्यवहार हुनुपर्ने विषयलाई पुनः बहसमा ल्याएको छ।
धार्मिक आस्था र सांस्कृतिक अभ्यासलाई सम्मान गर्दै पशुप्रति हुने क्रूरता रोक्नु तथा सबै समुदायका परम्परालाई समान मापदण्डका आधारमा हेर्नु आवश्यक रहेको उनको सन्देश देखिन्छ।

