Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | रासस

काठमाडौँ, ३ कात्तिकः शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।

 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेकामा यस वर्ष भने महाअष्टमी तिथि वृद्धि भई दशौँ दिनमा पूजा गरिएको हो । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख छ । 

 

सिद्धिदात्री देवीको स्वरुप

 

मुक्त हुन चाहनेहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

 

दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । 

 

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

 

दोस्रो दिन असोज २६ गते सोमबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज २७ गते मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन असोज २८ गते बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन असोज २९ गते बिहीबार स्कन्दमाताको पूजाआराधना गरियो । छैटौँ दिन असोज ३० गते शुक्रबार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । 

  

यसैगरी, सातौँ दिन असोज ३१ गते शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो । दुर्गा पक्षको आठौँ दिन कात्तिक १ गते आइतबार र कात्तिक २ गते सोमबार पनि महागौरी देवीको विशेष आह्वानसहित पूजाआराधना गरियो । महाअष्टमी तिथि वृद्धि भई दुई दिन महागौरी देवीको पूजाआराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

 

दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । 

 

दुर्गा पक्ष पनि भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजन लाम लागेर बसेका छन् । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर पनि आजै भक्तजनका लागि खोलिएको छ । तलेजु मन्दिरमा अहिले पनि उल्लेख्य सङ्ख्याका दर्शनार्थी लाममा बसेका छन् । महाअष्टमीमा जस्तै आज पनि शक्तिपीठ एवंं घर–घरमा बलिसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउँछन् ।

 

नौ दिनसम्म आराधना गरिएकी देवीलाई यही कात्तिक ४ गते बुधबार बिहान ८ः४९ बजे विसर्जन गर्ने साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो । देवीको प्रसाद लगाउन दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः२६ बजेको साइत दिइएको उहाँले सुनाउनुभयो । बुधबारदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गादेवीको प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan