Saturday 24th of October | २०८३ कार्तिक ८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ८ शनिबार | (रासस)

घोराही (दाङ), ७ कात्तिकः दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । यसको संरक्षणका लागि सराय नाचको सुरुआत निकै सकारात्मक रहेको गुल्मी जिल्ला मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आउनुभएका आशिष पन्थी बताउनुहुन्छ । यसले हरेर वर्ष यसरी नै निरन्तरता पायो भने सराय नाचको संरक्षण हुने उहाँको भनाइ छ । आफू पनि यस नाचमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । 

    “यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसको संरक्षणका लागि सबै लाग्नुपर्छ”, पन्थीले भन्नुभयो । उहाँले आफू बसाइँ सरेर यहाँ आएदेखि सराय नाच हेर्न नपाए पनि अहिले भने खुसी लागेको बताउनुभयो । विभिन्न पहाडी जिल्लाबाट यहाँ आएका नागरिकसँगै सम्पूर्ण यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । 

    तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रूपमा सराय नाच नाचिन्छ । तर, यो कला सङ्कटमा पर्ने थालेको भन्दै जिल्लामा यसवर्षदेखि सुरुआत गरिएको हो । यस नाचले दसैँमा टीका र जमरासँगै परिवार तथा आफन्तसँगको भेटघाटलाई विशेष महत्त्व दिन्छ । 

    देवीदेवताले दानवमाथि विजय प्राप्त गरेको खुसीयालीमा मनाइने सराय नाच दसैँको प्रमुख सांस्कृतिक आकर्षणका रूपमा रहेको हुँदा जिल्लामा पनि यस नाचको यस वर्षदेखि सुरुआत गरिएको घोराहीका नारायण भुसाल बताउनुहुन्छ । 

    ऐतिहासिक मन्दिर अम्बिकेश्वरी मन्दिरबाट सराय नाच मेलाको सुरु गरेको उहाँको भनाइ छ । यो नाचले आगामी दिनमा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँ बताउनुहुन्छ । 

    गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका ऐतिहासिक कोटघर तथा शक्तिपीठमा विशेष महत्त्वका साथ नाचिने यो नाच बसाइँसराइसँगै दाङमा पनि विस्तार गरिएको छ । देवी भगवतीले असत्यमाथि सत्यको विजय हासिल गरेको खुसीयालीमा विजयोत्सवका रूपमा यो नाच सुरु भएको धार्मिक विश्वास छ । 

    घोराही उपमहानगरपालिका–१५ का पाण्डव खनालले पहिले पहाडी जिल्लामा सीमित जस्तै रहेको सराय नाच पछिल्लो समय बसाइँसराइसँगै दाङमा पनि यस वर्षदेखि विस्तार गरिएको बताउनुभयो । पहाडी जिल्लाबाट बसाइँ सरेकाले पनि आफ्नो मौलिक संस्कृति जोगाउने उदेश्यले सबैको सहभागितामा सराय नाचको गरेको उहाँको भनाइ छ । 

    आफ्नो संस्कृति र परम्परासँग जोडीराख्ने उद्देश्यले जिल्लामा सराय नाचको सुरु गर्दा सबै खुसी भएका छन् । उहाँले भन्नुभयोे, “पछिल्लो समय सराय नाच महत्वपूर्ण बन्दै आएको छ, पहिले पहाडी क्षेत्रमा मात्रै गरिने यो नाच बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा सुरु भएको छ ।”

    सरायँ नाच केबल मनोरञ्जनका लागि गरिने प्रदर्शन होइन । यसमा धार्मिक आस्था, पूजा विधि र स्थानीय परम्पराको विशिष्ट संयोजन पाइने उहाँको भनाइ छ । सराय नाच हुने दिन विधिअनुसार पूजाआजा गरेपछि स्थानीय चलनअनुसार नाच सुरु गरिन्छ । नयाँ पुस्तालाई यसको इतिहास र महत्त्व बुझाउन नसक्दा संस्कृति सङ्कटमा पर्ने चिन्ताले दाङमा यसको सुरुआत गरेको उहाँले बताउनुभयो । 

    “पहाडी जिल्लामा इतिहास बोकेको सराय नाच अहिले तराईमा पनि विस्तार भएको छ”, उहाँले भन्नुभयो, “पहाडमा गरिने विधि र परम्परालाई पछ्याउँदै तराईमा पनि सराय नाच्न थालिएको छ ।” सराय नाचमा पहिले पुरुषको सहभागिता बढी हुने गरे पनि अहिले महिलाको सहभागिता पनि बढ्दै गएको छ । यसले परम्परागत संस्कृतिमा नयाँ पुस्ता र महिलाको सहभागिता विस्तार भइरहेको देखाउँछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan