Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

दमौली (तनहुँ), ९ कात्तिकः स्थानीय आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा रु दश लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् ।

    सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए ।

    तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ । अहिले त्यस क्षेत्रका महिला फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन् । टिपिएका फूललाई बिक्रीको समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहका अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो ।

    तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । यसमा ४५ जना महिला आबद्ध छन् । सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै बनेको छैन, आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने अवसरसमेत बनेको उहाँले बताउनुभयो ।

    फूलखेतीको उत्पादन र क्षेत्रफल बढ्दै गएपछि बजारमा पनि माग आउन थालेको छ । पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसक्नुभएको छ । 

    गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानीमा थप वृद्धि गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन पनि सहयोग पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिकिलो रु चार सयसम्म फूल बिक्री हुने गरेको छ । 

    तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले महिलाले उत्पादन र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिरहेका छन् । फूल टिपेर चिस्यान केन्द्रमा राख्ने व्यवस्थाले बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो । 

    आँबुखैरेनी गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन । स्थानीयस्तरमै महिलाले उत्पादन गरेको फूलको माग आउन थालेपछि उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

    सामूहिक प्रयास, बजारको माग र चाडपर्वमा हुने फूलको खपतलाई आधार बनाएर आँधीमूलका महिला यस वर्षको बिक्री लक्ष्य पूरा गर्ने तयारीमा छन् ।

    तिहारमा घर, मठमन्दिर र सार्वजनिकस्थल सजाउन प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै महिलाको आम्दानी बढाउने सम्भावना देखाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan