Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इथियोपियाको ओरोमियामा ४० भन्दा बढीको हत्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस/एएफपी)

इथियोपियाको मध्यवर्ती ओरोमिया राज्यमा शनिबार अर्थोडक्स इसाई चर्च र गाउँहरूमा भएका आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दा र एक पादरीले सोमबार एएफपीलाई बताएका छन् ।

    इथियोपियाको सबैभन्दा ठूलो राज्य ओरोमिया लामो समयदेखि विद्रोही गतिविधि र जातीय तनावबाट प्रभावित छ । यहाँ सशस्त्र समूहहरूले सामाजिक विभाजन बढाउन धार्मिक पहिचानको प्रयोग गर्ने गरेका छन् ।

    नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानीय बासिन्दाले टेलिफोनमार्फत एएफपीलाई बताएअनुसार, शिरका जिल्लाको चोले वडामा उहाँकी बहिनी र काकाको हत्या भएको छ भने उहाँका अन्य आफन्तलाई बन्धक बनाइएको छ ।

    उहाँका अनुसार उक्त क्षेत्रमा ४४ जनाको मृत्यु भएको छ । अर्का स्थानीय बासिन्दाले भने मृतकको सङ्ख्या ५१ पुगेको बताउनुभएको छ ।

    इथियोपियामा सञ्चारमाध्यमको पहुँचमा कडा प्रतिबन्ध रहेकाले यस्ता घटनाको स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन छ । इथियोपिया मानव अधिकार आयोगले घटनाबारे आफूले निगरानी गरिरहेको जनाएको छ ।

    पहिलो स्थानीय बासिन्दाले उक्त क्षेत्रमा धार्मिक तनाव उच्च रहेको बताउँदै समयमै सम्बोधन नगरिए स्थिति थप गम्भीर बन्न सक्ने चेतावनी दिनुभयो ।

    प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणमा दुईवटा चर्चलाई निशाना बनाइएको थियो । आक्रमणमा परेका मानिसका धेरै घरसमेत ध्वस्त पारिएको एक प्रत्यक्षदर्शीले बताए ।

    अफ्रिकाको सिङ आकारको क्षेत्रमा अवस्थित इथियोपिया लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्वबाट प्रभावित छ । गत महिना उत्तरी टिग्रे राज्यमा पनि भीषण लडाइँ भएको थियो ।

    करिब चार करोड जनसङ्ख्या रहेको ओरोमिया राज्यमा मुस्लिम, प्रोटेस्टेन्ट र अर्थोडक्स इसाई समुदायका मानिसहरू बसोबास गर्छन् । यहाँको द्वन्द्वको मुख्य कारण राजनीतिक तथा जातीय प्रतिनिधित्वसम्बन्धी विवाद भए पनि सशस्त्र समूहहरूले मानिसलाई एकजुट गर्न धार्मिक पहिचानको प्रयोग गर्ने गरेका छन् ।

    आक्रमणमा परेका चर्चमध्ये एकका डिकन (धार्मिक सेवक) ले मृतकको सङ्ख्या ४६ रहेको बताउनुभयो ।

    “यी दुःखद हत्याकाण्डबाट हामी स्तब्ध भएका छौँ । सुरक्षा व्यवस्था पुनः कायम गर्न हामी सरकारसँग तत्काल हस्तक्षेपको माग गर्दछौँ,” उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan