डीडीसीमा १२ करोडको घोटाला : पूर्वमहाप्रबन्धक सञ्जीव झासहित ८ जना पक्राउ
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता र मिलेमतो गरी संस्थानलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा पूर्वमहाप्रबन्धक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार डीडीसीका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर आर्थिक हानि पुर्याइएको भन्ने उजुरीमाथि गरिएको प्रारम्भिक छानबिनका आधारमा पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानबाट संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजनाअनुसार आपसी मिलेमतो गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको खुलेको प्रहरीले जनाएको छ ।
यसरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी रहेका छन् ।
प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर कात्तिक १३ गते उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सरकारी स्वामित्वको संस्थानभित्रै उच्च तहका पदाधिकारी र कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता भएको आरोप सार्वजनिक हुनुले संस्थानको व्यवस्थापन, आर्थिक पारदर्शिता र आन्तरिक नियन्त्रण प्रणालीमाथि समेत प्रश्न उठाएको छ ।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

