फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण
राँझा(बाँके), १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।
नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिव एक दशक भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उहाँको अनुभव छ ।
जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या वर्सेनि बढ्दै गएको छ । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि फूलको माग बढेको उहाँले बताउनुभयो ।
“फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो”, बिन्दुले भन्नुभयो, “यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।”
विन्दुले १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताउनुभयो । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उहाँको भनाइ छ ।
नेपालगञ्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यो वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती सुरु गर्नुभएको छ ।
फरक–फरक पेशा तथा व्यवसायमा आबद्ध उहाँहरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेतीमा अहिले सयपत्री फूल फुलेर ढकमक्क भएको छ । तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूलको बिक्री सुरु भइसकेको सुभाषजङ्ग शाहले बताउनुभयो ।
“नेपालगञ्जमा फूलको मागलाई लक्षित गरी खेती सुरु गरेका हौँ, चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारी गरिरहेका छौँ,” शाहले भन्नुभयो, “फूल तयार भइसकेको छ, ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा पनि दिइरहेका छौँ ।”
स्थानीयस्तर मै फूल उत्पादन गरी बजारमा बिक्री गर्नेे प्रयासले तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताउनुभयो ।
निर्वाहमुखी फूल लगाउँदै आएकोमा पछिल्लो केही वर्षयता बाँकेमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । रासस

