Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | रासस/सिन्ह्वा

इरानको हवाई प्रतिरक्षा बलले ‘स्टे«ट अफ होर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो ।

    इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए ।

    यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल एक्समा उक्त कमान्डले केश्म टापुसम्बन्धी समाचारबारे जानकारी पाएको जनाएको छ ।

    ती अधिकारीले त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त रहेको बताउँदै यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको अल जजिराले जनाएको छ ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताउनुभएको थियो । उहाँले उक्त सैन्य कारबाहीलाई ‘सामान्य’ प्रकृतिको भन्दै त्यस क्रममा इरानको एउटा सानो हवाई प्रतिरक्षा उपकरण नष्ट गरिएको दाबी गर्नुभएको थियो ।

    फ्लोरिडाको वेस्ट पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त उपकरण करिब १५ मिनेट, सम्भवतः पाँच मिनेटमै नष्ट गरिएको बताउनुभएको थियो ।

    यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई दुई करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ । आणविक कार्यक्रमसँग सम्बन्धित संरचना, उपकरण, वैज्ञानिक तथा अन्य कर्मचारी र तिनका गतिविधिबारे जानकारी दिनेलाई पुरस्कारका साथै अन्यत्र स्थानान्तरणको अवसरसमेत उपलब्ध गराइने कमान्डले जनाएको छ ।

    इरानले भने युरेनियम संवर्धन आफ्नो आणविक उद्योगको अभिन्न अङ्ग भएको बताउँदै आएको छ । आफ्नो आणविक कार्यक्रम अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसार सन्धिको पूर्ण पालना गर्दै अघि बढिरहेको इरानको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan