हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ ।
प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको हेल्मेट र रोमनकालीन मूर्तिलगायतका वस्तु राखिएका छन् । गाईको खप्पर, जुत्ता, स्विस सेनाको पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन् ।
स्विस हिमनदीविद्हरूले यस वर्ष देशका हिमनदीको कुल क्षेत्रफलको ५.५ प्रतिशत भाग गुमेको बताएका छन् । यो अभिलेख राख्न थालिएयताकै दोस्रो ठूलो गिरावट हो । हिमनदी तीव्र गतिमा पग्लँदै गएपछि त्यहाँ सुरक्षित रहेका सामग्री र वातावरणीय इतिहासका प्रमाण हराउनुअघि सार्वजनिक गर्न प्रदर्शनी आयोजना गरिएको ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीले बताउनुभयो ।
“हिमनदी अहिले निकै तीव्र गतिमा हराइरहेका छन् । ती पूर्ण रूपमा हराउनुअघि हामीले गुमाउन लागेका महत्त्वपूर्ण र रोचक अभिलेख मानिसलाई देखाउन चाहेका छौँ”, उहाँले भन्नुभयो ।
प्रदर्शनीमा वस्तुहरू मात्र नभई स्विस हिमनदीका भिडियो, वर्षौंको पग्लने दर देखाउने तथ्याङ्क र हिमनदी कसरी बग्छ भन्ने बुझाउने नमूना पनि राखिएका छन् । केही सामग्री मानिसले हराएका वा फ्याँकेका फोहोरसमेत हुन सक्ने बुरीले बताउनुभयो । ती वस्तु कसरी त्यहाँ पुगे भन्ने यकिन नभए पनि हिमनदी पग्लँदा के–कस्ता सामग्री बाहिर आउँछन् भन्ने बुझ्न प्रदर्शनी उपयोगी हुने उहाँको भनाइ छ ।
प्रदर्शनीमा राखिएका वस्तुहरू पहाडबाट सामग्री सङ्कलन गरेर प्रयोगशालासम्म पु¥याउन प्रयोग हुने सेता बाकसहरूमाथि सजाइएको छ । यसले गोदाममा सामग्री राखिएको जस्तो दृश्य प्रस्तुत गर्छ । हिमनदीबाट निकालिएको बरफको एउटा सिलिन्डर पनि राखिएको छ, जुन पग्लँदै झर्ने अवस्थामा देखिन्छ । यसले प्रकृतिमा भइरहेको तीव्र परिवर्तनलाई स्मरण गराउँछ ।
हिमनदीले ठोस वस्तु मात्र नभई वातावरणीय इतिहासका सूक्ष्म प्रमाणसमेत सुरक्षित राखेका छन् । प्रदर्शनीमा परागकण, हरितगृह ग्यास र २०औँ शताब्दीको मध्यतिर भएका आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कण बरफमा जमेर बसेको तथ्य पनि प्रस्तुत गरिएको छ ।
त्यस्तै, करिब ५०० वर्षअघि, १६औँ शताब्दीको मध्यतिर खडेरी र असाधारण गर्मीका कारण वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँका कण र कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको देखाइएको छ । यी प्रमाणले विगतमा पनि उच्च तापक्रम र चरम मौसमी अवस्था रहेको बुझ्न मद्दत गर्छन् ।
प्रदर्शनीमा मानव अवशेष राखिएका छैनन् । तर, हिमनदी पग्लँदा दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका शवसमेत फेला पर्ने गरेका छन् । गत अगस्टमा लुसर्नको दक्षिणमा रहेको ट्रिफ्ट हिमनदी नजिकै दशकौँअघि बेपत्ता भएका दुई बेल्जियम पर्वतारोहीका शव भेटिएका थिए । सन् २०१५ मा प्रसिद्ध म्याटरहर्न हिमाल नजिकै सन् १९७० मा हराएका दुई जापानी पर्वतारोहीका अवशेष फेला परेका थिए ।
हिमनदीमा संरक्षित वस्तु र प्रमाणले विगतको मानव गतिविधि, प्राकृतिक अवस्था र वातावरणीय परिवर्तनबारे महत्त्वपूर्ण जानकारी दिने भएकाले यस्ता सामग्रीको संरक्षण र अध्ययन आवश्यक रहेको प्रदर्शनीले देखाएको छ । यो प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुनेछ ।

