Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालको जलवायु अनुकूलनका तीनवटै परियोजना अन्तर्राष्ट्रिय कोषबाट स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार | (रासस)

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटै बहुआयामिक परियोजना जलवायु अनुकूलन कोष (Adaptation Fund) को ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग उच्च रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो।

यी परियोजनाले नेपालको पारिस्थितिक प्रणालीको संरक्षण, बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्को पूर्वसूचना प्रणाली सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिम र त्यसबाट सिर्जना हुने आर्थिक तथा वातावरणीय क्षति न्यूनीकरण गर्न पनि परियोजनाहरू महत्त्वपूर्ण हुने मन्त्रालयको विश्वास छ।

कोशी क्षेत्रको संरक्षणका लागि करिब ९९ लाख अमेरिकी डलर

स्वीकृत परियोजनामध्ये पहिलो ‘ग्रिन कोशी परियोजना’ (Green Koshi Project) हो। प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रको पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले अघि बढाइएको यस परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर सहयोग स्वीकृत भएको छ। परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) रहेको छ।

यस परियोजनाले प्राकृतिक स्रोत तथा पारिस्थितिक प्रणालीको संरक्षण गर्दै जलवायु परिवर्तनका असर सामना गर्न सक्ने क्षमता विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गरिने

दोस्रो परियोजना हिन्दुकुश हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरणसँग सम्बन्धित छ। ‘Strengthening Adaptation and Flood and Landslide Early Warning for the Hindu Kush Himalaya’ नामक यस परियोजनाका लागि तीन करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग प्रस्ताव स्वीकृत भएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) कार्यान्वयन निकाय रहेको यस परियोजनाले हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। यसबाट जोखिममा रहेका समुदायलाई समयमै सूचना उपलब्ध गराउन, सम्भावित विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति घटाउन र समुदायको जलवायु अनुकूलन क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लुम्बिनीमा स्थानीय नेतृत्वमा जलवायु कार्य

तेस्रो परियोजना लुम्बिनी प्रदेशमा स्थानीय समुदायको नेतृत्वमा जलवायु अनुकूलनका गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रस्ताव गरिएको हो। ‘लुम्बिनी प्रदेश स्थानीय नेतृत्व आधारित जलवायु कार्य परियोजना’ का लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत भएको छ। यसको कार्यान्वयन निकाय संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (UN-Habitat) रहेको छ।

यस परियोजनाले स्थानीय समुदायको सहभागिता र नेतृत्वमा प्रकृतिमैत्री जलवायु कार्य अघि बढाउँदै जलवायु परिवर्तनका असर सामना गर्न सक्ने उत्थानशील समुदाय निर्माणमा जोड दिनेछ।

जलवायु जोखिम न्यूनीकरणमा नेपालको महत्त्वपूर्ण उपलब्धि

जलवायु परिवर्तनका कारण नेपालले बाढी, पहिरो, अतिवृष्टि, खडेरी तथा अन्य प्राकृतिक विपद्का बढ्दो जोखिम सामना गरिरहेको छ। यस्तो अवस्थामा अनुकूलन क्षमता बढाउन अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउनु देशको वातावरणीय संरक्षण र विपद् जोखिम न्यूनीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

तीनवटै परियोजना स्वीकृत भएसँगै प्राकृतिक पारिस्थितिक प्रणालीको संरक्षण, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न थप स्रोत उपलब्ध हुने अपेक्षा गरिएको छ।

मन्त्रालयले नेपालको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै सीमित स्रोतका बाबजुद तीनवटै परियोजना स्वीकृत गरेकोमा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ।

नेपालका तीनवटै परियोजनाको स्वीकृतिले जलवायु परिवर्तनका असर सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र वित्तीय स्रोत परिचालनमा नेपालको प्रयासलाई थप बल पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan