एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, गगन थापाद्वारा खेलाडी र क्रिकेटप्रेमीलाई शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश व्यक्त गर्दै नेपाली क्रिकेटले हासिल गरेको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको उल्लेख गरेका छन्।
उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको भूमिकालाई स्मरण गरेका छन्।
नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने सबैप्रति सम्मान व्यक्त गर्दै थापाले आगामी दिनमा नेपाली क्रिकेटले अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन्।
एनपीएल नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता प्रदर्शन र क्रिकेटप्रतिको आकर्षण अभिवृद्धिसँग जोडिएको प्रतियोगिता हो। प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

