Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौं महानगरपालिकाको पहिलो काठमाडौं फिल्म फेस्टिभल हुँदै, ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने, टिकट निःशुल्क

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | L. B. (Sagar) Shrestha
newsabhiyan

काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलोपटक आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ मार्फत नेपाली चलचित्र, कला, संस्कृति तथा सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ। महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन (प्रेस मिटं मार्फत महानगरपालिकाले चलचित्र क्षेत्रको विकास, स्थानीय सिर्जनशील प्रतिभाको प्रोत्साहन र काठमाडौंको मौलिक पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ।

काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी कात्तिक १३, १४ र १५ गते तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित विभिन्न देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने तयारी छ। महोत्सवअन्तर्गत नेपाल पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा तथा सर्ट फिल्म भिडियो च्यालेञ्जका चलचित्र समावेश गरिनेछन्।

महानगरपालिकाका अनुसार महोत्सवका कार्यक्रम वसन्तपुर, राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँलगायत स्थानमा सञ्चालन हुनेछन्। महोत्सवको पहिलो दिन वसन्तपुरबाट सम्पदा यात्रासहित कार्यक्रम सुरु गरिनेछ। साथै, खुला स्थानमा चलचित्र प्रदर्शन, चलचित्रकर्मीबीच अन्तरक्रिया, मास्टर क्लास तथा नेपाली चलचित्र क्षेत्रलाई सम्मान गर्ने रेड कार्पेट कार्यक्रमसमेत आयोजना गरिनेछ।

चलचित्रमार्फत काठमाडौंको पहिचान विश्वसामु

काठमाडौं ऐतिहासिक सम्पदा, जीवन्त संस्कृति, परम्परा र मौलिक जीवनशैलीले भरिपूर्ण शहर हो। यहाँका ऐतिहासिक सम्पदा, जात्रा, पर्व, सामाजिक जीवन र सांस्कृतिक विविधतालाई चलचित्रमार्फत विश्वसामु प्रस्तुत गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेको छ।

महोत्सवले नेपाली चलचित्रकर्मी, कलाकार, निर्माता, निर्देशक, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील प्रतिभालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। यसले नेपाली चलचित्रको बजार विस्तार, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सहकार्य र अनुभव आदानप्रदानका अवसरसमेत सिर्जना गर्ने विश्वास लिइएको छ।

काठमाडौं महानगरपालिकाले चलचित्र क्षेत्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सिर्जनशील उद्योग, रोजगारी र पर्यटन प्रवर्द्धनसँग जोड्ने लक्ष्यसमेत राखेको छ।

युवा प्रतिभालाई प्रोत्साहन

महोत्सवअन्तर्गत युवा भिडियो च्यालेञ्ज र नेपाल पानोरामा कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। ‘My Culture, My Heritage’ अर्थात् ‘मेरो संस्कृति, मेरो सम्पदा’ विषयमा युवालाई लक्षित भिडियो च्यालेञ्ज सञ्चालन गरिएको छ। यसले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, सम्पदा र पहिचानलाई श्रव्यदृश्य माध्यमबाट प्रस्तुत गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपाल पानोरामाअन्तर्गत छोटा चलचित्रका विभिन्न विधालाई समेटिनेछ। छनोट भएका सिर्जनालाई प्रदर्शन तथा प्रोत्साहन पुरस्कारमार्फत सम्मान गरिने कार्यक्रम रहेको छ। यसले नयाँ चलचित्रकर्मीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउनेछ।

निःशुल्क चलचित्र प्रदर्शन र विभिन्न संस्थासँग सहकार्य

महोत्सवमा चलचित्र प्रदर्शन दर्शकका लागि निःशुल्क रहनेछ। तर, सिट सुरक्षित गर्न निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। चलचित्र प्रदर्शन तथा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र साझेदारसँग सहकार्य गरेको जनाएको छ।

जय नेपाल सिनेमा, अग्नि ग्रुप, इनड्राइभ, काठमाडौंस्थित अमेरिकी तथा अस्ट्रेलियन दूतावास, युनेस्को, अलायन्स फ्रान्सेजलगायत संस्थासँग विभिन्न पक्षमा सहकार्य गरिएको छ। डिजिटल टिकट व्यवस्थापनका लागि हिमालय पे तथा कार्यक्रमका विभिन्न स्थल र व्यवस्थापनका लागि सम्बन्धित संस्थाहरूसँग समेत सहकार्य गरिएको छ।

सिर्जनशील उद्योगको विकासमा नयाँ पहल

काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको पहिलो काठमाडौं फिल्म फेस्टिभललाई नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र काठमाडौंको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा नयाँ पुस्ताका सिर्जनाकर्मीलाई अवसर प्रदान गर्दै स्थानीय कला, संस्कृति र सम्पदालाई चलचित्रसँग जोड्न सके यसले पर्यटन प्रवर्द्धन र सिर्जनशील अर्थतन्त्रको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तीनदिने महोत्सवले काठमाडौंलाई ऐतिहासिक सम्पदा र सांस्कृतिक सहरका रूपमा मात्र नभई चलचित्र तथा सिर्जनशील उद्योगको सम्भावनायुक्त केन्द्रका रूपमा समेत परिचित गराउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan