स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
काठमाडौँ, ११ कात्तिकः स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरेको हो ।
यहि कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेपछि स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन निर्देशन दिइएको हो ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हुनसक्ने सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुने बाढीपहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गरी सतर्क रहन आग्रह गरेको छ ।
एकाइका प्रमुख डा हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहन एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्ने, निजको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनेको छ ।
त्यसैगरी, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालनसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ ।
विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ ।
एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ ।
सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न भनिएको छ ।

