Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नसर्ने रोग नियन्त्रणमा सरकारको जोड, उपचारभन्दा रोकथाम र जनचेतनालाई प्राथमिकता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

काठमाडौं, १८ कात्तिक । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ। सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नसर्ने रोगबाट हुने जोखिम न्यूनीकरणका लागि सरकारले रोकथाम, जनचेतना र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेको हो।

यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको छ।

बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय तथा विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयमा छलफल भएको थियो। त्यस्तै, विशेषज्ञ चिकित्सकलाई देशमै टिकाइराख्ने उपायबारे पनि विचारविमर्श गरिएको थियो।

सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याउँदै तिनको नियन्त्रण तथा नियमनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा बैठकले जोड दिएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।

नेपालले सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यसमेत लिएको छ। सोही लक्ष्य हासिल गर्न सरकार विभिन्न मन्त्रालय, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय गर्दै नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी बनाउने तयारीमा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan