Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनतेरस पर्व मनाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौँ, २० कात्तिकः कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने परम्परा छ । 

यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
  
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामलेसमेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साजसज्जा गरी राखिएको छ ।  

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो ।

आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ । केहीले आज कुबेरको पूजा आराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजा आराधना गर्छन् ।
 
दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँ पछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ ।

यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने शनिबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धनवन्तरी जयन्ती पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan