Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | रासस
newsabhiyan

 

म्याग्दी, १० कात्तिकः कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ । नामसँगै दाम पनि प्राप्त हुन्छ । यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई । जिल्लामा उहाँले नमुना किसानको पहिचान बनाउनुभएको छ । बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गर्नुभएको छ ।

 

सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन् । चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन् । फार्ममा ३०० बिजु र ३०० कलमी बिरुवा रोपिएका छन् । कलमी बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेका थिए । गत वर्ष ५० किलोग्राम कागती बिक्री भएको फार्ममा यस वर्ष उत्पादन बढ्ने सापकोटाको अपेक्षा छ ।

 

कागतीखेतीको व्यवस्थापन सापकोटाले गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीमा रहनुभएका जग्गाधनी डिलाराम कँडेल र पूर्वजग्गा धनी प्रकाश तुलाचन पनि खेतीमा साझेदार हुनुहुन्छ । जापानमा रहेका तुलाचनको योजनाअनुसार कागतीखेती सुरु गरिएको सापकोटाले बताउनुभयो ।

 

फार्ममा उत्पादित कागती प्रशोधन गरी जापान निर्यात गर्ने लक्ष्य राखिएको छ । यसअघि उक्त खेतमा धान, मकै, कोदो र गहुँखेती गरिन्थ्यो । खाद्यान्न बालीको विकल्पमा कागतीखेती सुरु गरिएको हो ।

 

“साँझबिहान र बिदाको समयमा बगैँचामा बिताउँछु । गोडमेल, काँटछाँट र मलजलका लागि कामदार परिचालन गर्ने गरेको छु”, सापकोटाले भन्नुभयो, “फलफूल खेतीप्रति आकर्षण बढाउने र यसमा सम्भावना छ भन्ने देखाउने उद्देश्यले कागतीखेती गरेको हुँ ।”

 

सापकोटा विसं २०६३ देखि व्यावसायिक सुन्तला खेतीमा पनि संलग्न हुनुहुन्छ । उहाँले सुन्तला बिक्रीबाट वार्षिक रु. पाँच लाख आम्दानी हुने बताउनुभयो । जिल्लाकै ठूलो कागती फार्म भएको उहाँको दाबी छ । सेवा निवृत्त भएपछि व्यावसायिक फलफूल खेतीलाई थप विस्तार गर्ने सापकोटाको योजना छ । 

 

सापकोटाको प्रेरणाबाट बञ्जाका किसानले पनि व्यावसायिक सुन्तलाखेती विस्तार गर्न थालेका छन् । स्थानीय बासिन्दासमेत रहनुभएका संविधानसभा सदस्य गमबहादुर श्रीसले सापकोटाले किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सुन्तला बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिँदै आउनुभएको छ ।

 

“कृष्णलाल सरले युवा र किसानलाई सुन्तलाजात फलफूल खेतीतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ”, श्रीसले भन्नुभयो, “मैले पनि राजनीति र सामाजिक कामबाट बचेको समय सुन्तलाखेती, बाख्रापालन र मौरीपालनमा लगाएको छु ।” श्रीस अन्तरिम व्यवस्थापिका संसद् तथा संविधानसभाको पहिलो कार्यकालका सदस्य हुनुहुन्थ्यो ।

 

मङ्गला गाउँपालिकाका कृषि अधिकृत विमल रोकामगरका अनुसार नेपालमा समुद्री सतहबाट एक सयदेखि एक हजार ४०० मिटर उचाइसम्मका क्षेत्रमा कागतीखेती गर्न सकिन्छ । दैनिक आठदेखि १० घण्टासम्म घाम लाग्ने, वार्षिक ८०० देखि एक हजार मिलिमिटरसम्म वर्षा हुने र १० देखि ३५ डिग्री सेल्सियस तापक्रम रहने स्थान यसका लागि उपयुक्त मानिन्छ ।

 

पानी नजम्ने, हल्का दोमट र प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटो कागतीखेतीका लागि उपयुक्त हुन्छ । कागती बालीमा जङ्गली जनावरबाट क्षति हुने जोखिम पनि तुलनात्मक रूपमा कम हुन्छ । नेपालमा सुनकागती–१, सुनकागती–२ र तेह्रथुम स्थानीय जातका कागतीखेती गरिँदै आएको कृषि अधिकृत रोकामगरले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan