दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी
नयाँदिल्ली, १८ कात्तिक : भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको दैनिक सीमाभन्दा ३० गुणाभन्दा बढी पुगेको छ । बुधबार केही क्षेत्रमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्राम नाघेको वायु गुणस्तर अनुगमन संस्था आइक्युएयरले जनाएको छ ।
दीपावली नजिकिँदै गर्दा आतसबाजीका कारण प्रदूषण थप बढ्ने आशङ्का गरिएको छ । प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन र निर्माण कार्यमा प्रतिबन्ध कडा पारे पनि त्यसको तीन दिनपछि नै प्रदूषण झन् बढेको हो । सर्वोच्च अदालतले दीपावलीमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ ।
भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीको जाडोयामको वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत, जैविक पदार्थ जलाउने कार्यको २० प्रतिशत र औद्योगिक क्षेत्रको करिब नौ प्रतिशत छ । सबैभन्दा ठूलो हिस्सा अर्थात् २७ प्रतिशत प्रदूषण विभिन्न ग्यासको रासायनिक प्रतिक्रियाबाट बन्ने माध्यमिक कणको रहेको छ ।
विज्ञ ज्याकोब कोशीका अनुसार दिल्ली आसपासका खेतमा प्रयोग हुने मलबाट निस्कने अमोनियाले पनि माध्यमिक कण निर्माणमा योगदान पुर्याउँछ । उहाँका अनुसार अमोनियाले अन्य प्रदूषकसँग प्रतिक्रिया गर्दा वायु प्रदूषण थप जटिल बन्छ ।
द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो ।

