Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |

काठमाडौं । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्व औपचारिक रूपमा सम्पन्न भएको छ।

छठ पर्वको अन्तिम दिन बिहानैदेखि तराई–मधेससहित देशका विभिन्न स्थानका नदी, खोला, पोखरी, तलाउ तथा जलाशयका किनारमा व्रतालु र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। व्रतालुहरूले स्नान गरी शुद्ध वस्त्र धारण गर्दै पूजा सामग्रीसहित जलाशयमा उभिएर उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए।
कात्तिक शुक्ल षष्ठी अर्थात् हिजो साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसअघि निराहार व्रत बसेका व्रतालुहरूले बाँसका ढाकी, नाङ्लो तथा सुपलीमा ठकुवा, भुसुवा, फलफूल, नरिवल, उखु, अदुवा, बेसारलगायतका पूजासामग्री सजाएर सूर्यदेवको आराधना गरेका थिए।

साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जलाशय तथा घाट किनारमा जाग्राम बसेका थिए। भजनकीर्तन, छठी माताको स्तुति र भक्तिमय वातावरणबीच बिहानको प्रतीक्षामा रहेका श्रद्धालुहरूले सूर्योदयसँगै पुनः पूजा गरी अर्घ्य अर्पण गरेका हुन्।

छठ पर्वलाई प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा कृतज्ञता प्रकट गर्ने महापर्वका रूपमा लिइन्छ। यस पर्वमा सूर्यदेव र छठी माताको पूजा गर्दा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायु प्राप्त हुने धार्मिक विश्वास छ।
विशेषगरी तराई–मधेसमा भव्य रूपमा मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउन थालिएको छ। छठले जातीय, भाषिक र सांस्कृतिक विविधताबीच धार्मिक सद्भाव, सामाजिक एकता र पारिवारिक आत्मीयताको सन्देशसमेत दिएको छ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै व्रतालुहरूले प्रसाद ग्रहण गरी आफ्नो व्रत समापन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan