बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
इङ्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो ।
गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन ।
बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको कसुरमा यसअघि दोषी ठहरिएका वा चेतावनी पाएका महिलाहरूलाई स्वतः माफी दिइएको जनाएको छ ।
सन् २०२५ जुनमा सांसदहरूले इङ्ल्यान्ड र वेल्समा आफ्नै गर्भावस्था अन्त्य गरेको अभियोगमा महिलामाथि फौजदारी मुद्दा चलाउने व्यवस्था हटाउने पक्षमा मतदान गरेका थिए । यसअघि २४ हप्तापछि वा आवश्यक चिकित्सकीय स्वीकृतिबिना गर्भपतन गराउने महिलाले फौजदारी अभियोग सामना गर्नुपर्ने व्यवस्था थियो ।
इङ्ल्यान्ड र वेल्समा आधिकारिक स्वास्थ्य सेवा प्रदायकमार्फत २४ हप्तासम्म गर्भपतन गराउन कानुनी अनुमति छ । त्यसपछि भने आमाको ज्यान जोखिममा पर्ने लगायतका सीमित परिस्थितिमा मात्र गर्भपतन गर्न पाइन्छ ।
सन् १८६१ को कानुनअनुसार कानुनी प्रावधानबाहिर गरिने गर्भपतनलाई अपराध मानिन्थ्यो । उक्त कसुरमा दोषी ठहरिने महिलालाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था थियो ।
अभियानकर्मीहरूका अनुसार सन् २०२२ देखि २०२५ सम्म इङ्ल्यान्डमा छ महिलालाई कानुनी प्रावधानबाहिर गर्भपतन गराउने प्रयास गरेको अभियोगमा अदालतमा उपस्थित गराइएको थियो ।
गर्भपतनलाई अपराधको सूचीबाट हटाउने संशोधन प्रस्ताव अघि सारेकी सांसद टोनिया एन्टोनियाज्जीका अनुसार सन् २०२० देखि २०२५ सम्म प्रहरीले अवैध गर्भपतन गरेको आशङ्कामा १०० भन्दा बढी महिलामाथि अनुसन्धान गरेको थियो ।
नयाँ कानुनले गर्भपतन सेवा उपलब्ध गराउनेसम्बन्धी विद्यमान प्रावधान र समयसीमालाई भने यथावत् राखेको छ । साथै, कानुनले तोकेको सीमाभन्दा बाहिर गर्भपतन गराउन महिलालाई सहयोग गर्ने व्यक्तिमाथि अझै पनि मुद्दा चलाउन सकिने व्यवस्था छ ।
सांसद एन्टोनियाज्जीले इङ्ल्यान्ड र वेल्सका महिला तथा किशोरीहरूका लागि सोमबारको दिन महत्वपूर्ण र ऐतिहासिक भएको बताउनुभयो । उहाँले नयाँ व्यवस्थाअन्तर्गत अनुसन्धानमा परेका महिलाहरूको आपराधिक अभिलेखसमेत मेटाइने जानकारी दिनुभयो ।
लेबर पार्टीकी सांसद एन्टोनियाज्जीले पीए समाचार संस्थासँग कुरा गर्दै कुनै पनि माफीले महिलाहरूले भोगेको पीडा र मानसिक कष्ट मेटाउन नसक्ने भए पनि उनीहरूमाथि अन्याय भएको स्वीकार गर्ने महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँका अनुसार पुरानो कानुनका कारण अनावश्यक क्षति बेहोरेका १०० भन्दा बढी महिलाले नयाँ व्यवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ ।
उत्तरी आयरल्यान्डले सन् २०१९ मै गर्भपतनलाई अपराधको दायराबाट हटाएको थियो । स्कटल्यान्डले भने हाल आफ्नो गर्भपतनसम्बन्धी कानुनको पुनरावलोकन गरिरहेको छ ।


