इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण
इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ । सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।
लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त क्षेत्रमा इजरायली हवाई आक्रमण भएको जनाएका छन् । अल जदीद टेलिभिजनका अनुसार पछिल्लो तीन महिनामा बेका क्षेत्रमा भएको यो पहिलो इजरायली आक्रमण हो ।
इजरायली सेनाले हिज्बुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हतियार तस्करी गर्ने र लेबनानभरि लडाकुहरू परिचालन गर्ने गतिविधि जारी राखेको आरोप लगाएको छ । साथै, इजरायल युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाएको छ । यसैबीच, लेबनानी प्रसारक एलबीसीआईका अनुसार सोमबार बिहान करिब ५० इजरायली सैनिक शेबाको बाहिरी क्षेत्रमा प्रवेश गरी हमदान परिवारका दुई दाजुभाइलाई नियन्त्रणमा लिएका छन् ।
लेबनानी सञ्चारमाध्यमका अनुसार उनीहरूका अर्का भाइलाई इजरायलले एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ । इजरायली सेनाले भने उक्त स्थल कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन ।


