Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस/एपी)

बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको छ । सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो ।
    
    राजपरिवारका उक्त दम्पतीले मुम्बईबाट भ्रमण सुरु गर्नुहुनेछ । उहाँहरू मङ्गलबार ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुने कार्यक्रम छ । राजकुमार विलियमले सुरु गरेको यस वातावरणीय पुरस्कारअन्तर्गत जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्न पाँच विजेतालाई जनही १३ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।

    सन् २०२० मा स्थापना भएको यस पुरस्कारको अहिलेसम्मकै ठूलो समारोहमा भारतीय क्रिकेटका चर्चित खेलाडी सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट र अभिनेता रामी मालेकसहित विशिष्ट अतिथिहरू सहभागी हुनेछन् । बेलायती पप समूह ‘टेक द्याट’ले पनि यसै कार्यक्रममार्फत पहिलो पटक भारतमा प्रस्तुति दिनेछ ।

    राजकुमार विलियमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “भारतले विगत छ वर्षमा अर्थसट अभियानमा असाधारण योगदान दिएको छ । अन्य कुनै पनि देशको तुलनामा भारतबाट सबैभन्दा बढी फाइनलिस्ट र विजेता आएका छन् ।”

    भारत आइपुगेपछि राजकुमार विलियम र राजकुमारी क्याथरिनले मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा स्थानीय बासिन्दासँग सडक क्रिकेट खेल्नुभयो । सडक क्रिकेट मुम्बईको दैनिक जीवनको अभिन्न हिस्सा मानिन्छ ।

    नयाँदिल्ली प्रस्थान गर्नुअघि उहाँहरूले भारतको क्रिकेट, फेसन र चलचित्र उद्योगसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । नयाँ दिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    उहाँहरूले १० वर्षअघि भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो ।  त्यतिबेला राजा चाल्र्स तृतीयका जेठा छोरा विलियम बेलायती राजसिंहासनका उत्तराधिकारी बनिसक्नुभएको थिएन् ।

    यो भ्रमण राजकुमारी क्याथरिनका लागि विदेशमा हुने राजपरिवारका औपचारिक गतिविधिमा सक्रिय सहभागिताको महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ । उहाँले सन् २०२४ मार्चमा पेटको ठूलो शल्यक्रियापछि उपचारका क्रममा आफूलाई क्यान्सर भएको जानकारी दिनुभएको थियो । ‘केट’ नामले पनि परिचित उहाँले सन् २०२५ जनवरीमा आफू क्यान्सरमुक्त अवस्थामा पुगेको घोषणा गर्नुभएको थियो । त्यसयता उहाँले क्रमशः सार्वजनिक जिम्मेवारी सम्हाल्न थाल्नुभएको छ ।

    यसअघि क्यान्सर पुष्टि भएपछि पहिलो विदेश भ्रमणका क्रममा उहाँ गत मे महिनामा पतिबिना नै इटाली जानुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan