सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने
डडेल्धुरा, ३० कात्तिक: सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । मङ्सिर ७ गते रतेडी र ८ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो ।
परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको उहाँको भनाइ छ । भगवती माताको पूजा बिहान ४:०० बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्क, घण्टालगायत बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले बताउनुभयो ।
“बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चार वटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका पुन:चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ”, स्थानीय देवकी भट्टले भन्नुभयो ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दु:ख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ ।
किम्बदन्तीअनुसार दुई हजार ५०० वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास रहेको समितिका अध्यक्ष साँकीले बताउनुभयो ।
उहाँका अनुसार वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।


