राप्तीतटमा यस वर्षको छठ पूजामा ६५ हजार बढी भक्तजन सहभागी
बागमती, ३० कात्तिक: हेटौँडाको राप्तीतटमा आयोजित छट विशेष पूजा समारोहमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् । हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी बनेको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुुभयो ।
राप्ती तटमा आयोजित छठ विशेष कार्यक्रममा मकवानपुुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न उच्च पदस्थ सरकारी कर्मचारी, राजनीतक दलका नेता, जनप्रतिनिधि लगायतको उपस्थिति थियो । छठलाई लक्षित गरी सात फिटको पण्डालसहित भक्तजनका करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएकोमा उक्त स्थल खचाखच भरिएको थियो ।
भक्तजनको उल्लेख्य उपस्थितिका कारण आइतबार साँझ पूर्व पश्चिम राजमार्गअन्तर्गतको राप्ती रोडमा केही समय सडकमा केही समय जामको अवस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो । हेटौँडामा पछिल्लो २० वर्षयता छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उहाँको भनाइ छ ।


