चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
म्याग्दी, ३० कात्तिक: म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाको सहयोगमा सिसर्काबाट समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीको दृष्य अवलोकनस्थल जोड्ने पाँच किलोमिटर पदमार्ग निर्माण भएको हो ।
गाउँपालिकाले विनियोजन गरेको रु नौ लाख बजेटबाट चिमखोलाका ३० जना मजदुर पाँच सातासम्म जङ्गलमा बास बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजापुनले जानकारी दिनुभयो । “भिर र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिडी बनाउने, झाडी फाड्ने र माटो काटेर घोडा खच्चर हिँड्न मिल्ने गरी पदमार्ग निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “बस्तीबाट टाढा भएकाले मजदुर गोठ बनाएर जङ्गलमा बसेर घामपानी, झरी बादल नभनी पदमार्ग बनाएका हौँ ।”
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो । सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे्र र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।
सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गल वसन्तयाममा विभिन्न रङका लालीगुराँस फुलेर मनमोहक हुने गर्छ । घोरल, मृगलगायत जनावर र पाँच औले, सेदक चिनीलगायत जडिबुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लबले तीन वर्षअघि चिमखोलादेखि पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।
सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिँड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासी वर्खायाममा गाईभैँसी र भेँडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दर्थे ।
पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका-७ का वडाध्यक्ष थकबहादुर पाइजाले पदमार्ग निर्माणका साथै यस वर्ष सोवाङमा पर्यटन प्रवर्द्धनका लागि थप रु तीन लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । चिमखोलाका मोति तिलिजा पुनका परिवारले व्यक्तिगत लगानीमा दृष्य अवलोकन स्थलमा घेराबार निर्माण र एउटा खानेपानीको ड्रम राख्ने तयारी गर्नुभएको छ ।
यसअघि चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रयस्थल भवन निर्माण गर्नुभएको छ । ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो ।
गर्बुजाको अगुवाइमा यसअघि सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँ नजिकै पाँच/पाँच सय लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको थियो । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् । हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ ।
वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ ।
चिमखोला-सोवाङ-दोवा जोड्ने पदमार्गको सर्वेक्षण गरेर चिमखोला क्षेत्रमा पर्ने सिसर्का र सिजीमा १०/१० कोठे आश्रयस्थल भवन र सिजी देखि थामखर्क जोड्ने एक किलोमिटर पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेर सङ्घीय सरकारसँग प्रस्ताव गरिएको रघुगङ्गा गाउँपालिकाले जनाएको छ ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्यसमेत रहनुभएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनको पहलमा पर्यटन विभागले दोवा-सोवाङ-चिमखोला पदमार्गको गत जेठ महिनामा सम्भाव्यता अध्ययन भएको थियो ।
टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर-राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।


