दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको गौरव : १२६ जनालाई राष्ट्रसंघीय पदक
जुबा । द्वन्द्वग्रस्त मुलुक दक्षिण सुडानमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका नेपाली शान्ति सैनिकहरूले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएका नेपालका १२६ जना शान्ति सैनिकलाई उनीहरूको उत्कृष्ट सेवा, समर्पण र निरन्तर प्रतिबद्धताको कदर गर्दै संयुक्त राष्ट्रसंघ (यूएन) पदक प्रदान गरिएको छ।
दक्षिण सुडानको राजधानी जुबामा आयोजित विशेष समारोहमा उनीहरूलाई उक्त पदक प्रदान गरिएको हो। समारोहमा संयुक्त राष्ट्रसंघीय मिसन दक्षिण सुडान (UNMISS) का फोर्स कमाण्डर मेजर जनरल जुनहुई वुको विशेष उपस्थिति रहेको थियो।
समारोहले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सुरक्षाकर्मीहरूको भूमिका, व्यावसायिक क्षमता र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ। विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा अस्थिर क्षेत्रमा शान्ति स्थापनाका लागि नेपाली सुरक्षाकर्मीहरूले लामो समयदेखि निर्वाह गर्दै आएको जिम्मेवारीको यो सम्मान अर्को महत्त्वपूर्ण उपलब्धि बनेको छ।
दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकहरूले सुरक्षा जिम्मेवारीमा मात्र आफूलाई सीमित राखेका छैनन्। उनीहरूले द्वन्द्व तथा असुरक्षाबाट प्रभावित नागरिकको जीवन सहज बनाउन मानवीय सहायता कार्यमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
विशेषगरी आवश्यकतामा रहेका समुदायलाई खाद्यान्न, औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउने मानवीय सहायता साझेदार संस्थाहरूलाई सुरक्षा प्रदान गर्नुका साथै उनीहरूको कार्य सञ्चालनमा आवश्यक सहयोग गर्दै आएका छन्। जोखिमपूर्ण परिस्थितिमा मानवीय सहायता सामग्री र सेवाहरू प्रभावित समुदायसम्म सुरक्षित रूपमा पुर्याउन नेपाली शान्ति सैनिकको भूमिका उल्लेखनीय रहेको समारोहमा प्रशंसा गरिएको थियो।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनासहित नेपालका सुरक्षा निकायको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा उचो बनाउँदै आएको छ। अनुशासन, साहस, व्यावसायिक दक्षता र मानवीय संवेदनशीलताका कारण नेपाली शान्ति सैनिकले विश्व समुदायमा विश्वासिलो छवि निर्माण गरेका छन्।
दक्षिण सुडानमा १२६ जना नेपाली शान्ति सैनिकले प्राप्त गरेको यो पदक व्यक्तिगत सम्मान मात्र नभई नेपालको शान्ति स्थापना अभियानप्रतिको योगदानको अन्तर्राष्ट्रिय कदरसमेत हो। द्वन्द्वको धुवाँभित्र शान्तिको उज्यालो खोजिरहेका समुदायका लागि नेपाली सुरक्षाकर्मीले पुर्याएको सेवाले नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः स्थापित गरेको छ।


