दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ
काठमाडौँ, १२ कात्तिकः दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा निजले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वय पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
निजलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा दफा २६२ (क) १ को (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

