पत्रकार पक्राउप्रति कांग्रेस महामन्त्री पौडेलको आपत्ति, अविलम्ब रिहा गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।
सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उनको भनाइ छ।
कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटाहरू खुला रहेको उल्लेख गर्दै उनले संवैधानिक तथा कानुनी प्रक्रियालाई लत्याएर राज्यशक्तिको दुरुपयोग गरी पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत भएको बताएका छन्।
‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ पौडेलले फेसबुकमा लेखेका छन्।
उनले पक्राउ गरिएका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।
यसअघि पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको स्मरण गराउँदै पौडेलले त्यही प्रवृत्ति अहिले राज्यसंयन्त्रबाटै दोहोरिनु लज्जास्पद र अस्वीकार्य भएको टिप्पणी गरेका छन्।
आफ्ना कमजोरी छोप्न सञ्चारमाध्यमलाई त्रसित बनाउने प्रयास तत्काल रोक्न सरकारलाई सचेत गराउँदै उनले पत्रकारिताको स्वतन्त्रता र प्रेसको संवैधानिक भूमिकाको सम्मान गर्न आग्रह गरेका छन्।

