युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’ को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथै विशेष गरी रुस–युक्रेन युद्ध र ‘ब्ल्याक सी’ क्षेत्रको सुरक्षा स्थितिबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्नेछन्,” राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले एक्समा लेख्नुभएको छ।
रुस र युक्रेन दुवैसँग सम्बन्ध भए पनि टर्की ‘ब्ल्याक सी’ मा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणबाट क्रुद्ध छ ।
राष्ट्रपति एर्दोगानले सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा यस्ता आक्रमण ‘अस्वीकार्य’ भएको बताउनुभएको थियो । अङ्काराले नागरिक जहाजहरूमाथिको आक्रमण रोक्न रुस र युक्रेनलाई प्रस्ताव पठाएको थियो तर दुवै शत्रु पक्षले त्यसमा कुनै कदम चालेका छैनन् । टर्कीले रुस र युक्रेनबीच दिगो युद्धविराम र शान्ति सम्झौताका लागि धेरै चरणका वार्ता पनि आयोजना गरेको छ ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा एर्दोगानले युक्रेन र रुसबीच कूटनीतिक प्रक्रिया पुनः सुरु गर्न तथा वार्तामार्फत युद्ध अन्त्य गर्न टर्की तयार रहेको बताएका टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

