Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | अदिस अबाबा, १३ कात्तिक (रासस/एएफपी) :

इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारवटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन् ।

    नाम गोप्य राख्न अनुरोध गरेका एक प्रत्यक्षदर्शीका अनुसार शिविरमा एकपछि अर्को गरी चारवटा ड्रोन आक्रमण भएका थिए । उहाँका अनुसार शिविरमा १४ जनाको शव गाडिएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो ।

    शिविरका अन्य दुई बासिन्दाले पनि बालबालिकासहित क्रमशः १४ र १५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनीहरूमध्ये एक जनाले शव गाड्न सहयोग गर्नुभएको थियो ।

    अदिस अबाबाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको शिविरमा विद्यार्थीहरू विद्यालयबाट घर फर्किरहेका बेला आक्रमण भएको प्रत्यक्षदर्शी अहमदले बताउनुभयो । उहाँले आफ्नी बहिनीको मृत्यु भएको र शरीर टुक्राटुक्रा भएकाले शवसमेत फेला पार्न नसकेको बताउनुभयो ।

    सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने संस्था एकल्डले घटनामा १६ देखि २३ जनासम्म मारिएको र अज्ञात सङ्ख्यामा मानिस घाइते भएको जनाएको छ । संस्थाले मृतकमा बालबालिका परे–नपरेको भने खुलाएको छैन ।

    संयुक्त राष्ट्रसङ्घले जुलाईमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको अम्हारा क्षेत्रमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । यस क्षेत्रमा सङ्घीय सेनाले बारम्बार ड्रोन आक्रमण गर्दै आएको छ र द्वन्द्वका कारण करिब पाँच लाख मानिस विस्थापित भएका छन् । घटनाबारे एएफपीले सोध्दा इथियोपियाली सङ्घीय सेनाका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिनुभएको छैन ।

    प्रत्यक्षदर्शीका अनुसार शिविरमा आश्रय लिइरहेका विस्थापितहरू अम्हारासँगै जोडिएको र इथियोपियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ओरोमिया क्षेत्रका हुन् । राजधानी अदिस अबाबाले आतङ्कवादी सङ्गठन घोषणा गरेको ओरोमो लिबरेसन आर्मी (ओएलए) ले आठ वर्षभन्दा बढी समयदेखि यस क्षेत्रमा सङ्घीय सेनाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan