पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा आत्मघाती आक्रमणकारीसहित दुई आतङ्ककारी मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार लाक्की मारवत जिल्लामा कालो सिसा भएको एउटा शङ्कास्पद सवारीसाधन रहेको सूचना पाएपछि कारबाही अघि बढाइएको थियो ।
प्रहरी टोली घटनास्थलमा पुग्नासाथ सवारीसाधनमा रहेका शङ्कास्पद व्यक्तिहरूले गोली चलाएका थिए । त्यसपछि प्रहरीले गरेको जवाफी कारबाहीमा दुई जना मारिएका थिए भने घाइते भएका अर्का एक जना फरार भएका थिए ।
प्रहरीले उक्त सवारीसाधनबाट हतियार, गोलीगठ्ठा, प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को झण्डा र अन्य शङ्कास्पद सामग्री बरामद गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिहरू ठूलो आतङ्कवादी आक्रमणको तयारीमा रहेको आशङ्का गरिएको छ । प्रहरीको समयमै भएको कारबाहीले सम्भावित आक्रमण विफल भएको प्रहरीको भनाइ छ ।
फरार व्यक्तिको खोजी तथा मारिएका व्यक्तिहरूको पहिचानका लागि प्रहरीले आतङ्कवादविरोधी विभागसँगको समन्वयमा खोजी अभियान सुरु गरेको छ ।
–


