प्रदेश प्रमुख खापुङसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस
विराटनगर, १८ कात्तिकः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष थारु आयोगको आर्थिक वर्ष २०८२÷८३ को आठौँ वार्षिक प्रतिवेदन आयोगका सदस्य भोलाराम चौधरीले आज पेस गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानअनुसार गठन भएको थारु आयोगले तयार पारेको वार्षिक प्रतिवेदनले असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले समाजमा विद्यमान अन्याय, अत्याचार र अन्धविश्वासलाई हटाउन आयोगको प्रतिवेदन कोसेढुङ्गा सावित हुने भन्दै समुत्रत र समृद्ध राष्ट्र निर्माणमा आयोगको भूमिका अझ फराकिलो बनोस् शुभकामना दिनुभयो ।
आयोगका सदस्य चौधरीले समावेशी, लोकतन्त्र र सामाजिक न्यायको माध्यमबाट थारु भाषा, संस्कृतिको संरक्षण हुनु पर्ने भन्दै थारु समुदायले मान्दै आएको ‘ग्रामथान’ संस्कृतिको संरक्षणमा जोड दिनुभयो ।
उहाँले थारुहरुको मौलिक सम्पदाको रुपमा रहेको ‘ग्रामथान’ संस्कृतिसँगै थारु जातिको उत्थान, सीप विकास, भाषाको सशक्तीकरण हुनुपर्ने माग राख्नुभयो ।
नेपालका कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशतअर्थात् १८ लाख सात हजार १२४ थारु समुदायका छन् । कोशी प्रदेशमा कूल दुई लाख नौ हजार १९ थारु जाति छन् ।
जसमा थारु जातिको बसोबास सुनसरी, मोरङ, झापा र उदयपुरमा रहेको आयोगका सदस्य चौधरीले जानकारी दिनुभयो ।

